बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ । गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु १ लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो ।
जनताको नजिकको सरकारले पहिरोबाट विस्थापित भएकालाई घर बनाउन सहयोग पुर्याउने उद्देश्यले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् । “ घर बनाउन नगरपालिकाको तर्फबाट दुई किस्ता गरेर रु १ लाख ५० हजार उपलब्ध गराइनेछ”, नगरप्रमुख पौडेलले भने ।
बागलुङलाई विपद् जिल्लाको रुपमा सरकारले घोषणा गरेर बाढीपहिरो पीडितलाई घर बनाउन सङ्घीय सरकारले रु ४ लाख, गण्डकी प्रदेश सरकारले रु १ लाख दिने निर्णय गरेको छ, त्यसमा नगरपालिकाले १ लाख ५० हजार थप गर्ने निर्णय गरेको हो । घर बनाउने सूचीमा परेका पीडितले घर निर्माणको पहिलो चरण पूरा गर्नासाथ रु ७५ हजार पहिलो किस्ताबापत उपलब्ध गराउने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारी दिएका छन् ।
“घर बनाउँदा पहिरोपीडितले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान छ, ३ ढाँचामा नगरपालिकाले नक्सा बनाएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “रु १ लाख ५० हजारले सबै घर बन्दैन, पीडितलाई अनुदानका रुपमा उपलब्ध गराउन थालिएको हो, प्रदेश र सङ्घीय सरकारले समेत घर बनाउन रकम दिने भएपछि पीडितले राम्रो भूकम्प प्रतिरोधी घर बनाउन सक्नेछन् ।”
सङ्घीय सरकार र प्रदेश सरकारले पीडितको घर बनाउन दिने भनेको रकम केही ढिला भएका कारण नगरपालिकाले पीडितको घाउँमा मलम लगाउन भए पनि अनुदान दिने निर्णय गरेको छ । उक्त घर सङ्घीय सरकार र प्रदेश सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा समेत छन् ।
सरकारले बागलुङलाई विपद्ग्रस्त क्षेत्रका रुपमा समेटेर बागलुङका ५९० घर पुनःनिर्माण गर्नुपर्ने तथ्याङ्क सङ्कलन गरेको थियो । बाढीपहिरो पीडितको घर निर्माणका लागि बागलुङ जिल्लामा सरकारले कार्यालय स्थापना गर्ने तयारीसमेत थालेको छ । भदौ १७ गते राति ढोरपाटनको भुजीखोला थुनिएर आएको बाढीले झण्डै १०० भन्दा बढी घर बगाएको थियो । त्यसलगत्तै बागलुङलाई सरकारले विपद्ग्रस्त जिल्लाका रुपमा घोषणा गरेको थियो ।