हिजो चैत्र १० गते दिउँसोबाट अवरुद्ध भएको पठाओको सेवा २४ घण्टा पछि आज ३ बजेबाट सुचारु भएको छ।
हिजो पठाओ नेपाल प्रालिले प्राविधिक कारण सेवा अवरुद्ध भएको बताएको थियो। सेवा पुनः सुचारु भए सँगै बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातले बताए।
पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडर साथीहरूलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातले बताए।
यस सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने बस्न्यातको भनाइ छ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरसङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटेल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।