सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुने क्रमसँगै पार्टी फुटको जोखिम बढेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शनिवार आफूनिकट केन्द्रीय सदस्यको भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो ।
यसै गरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ । सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह छ ।
यसअघि शुक्रवार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि आफूनिकट केन्द्रीय सदस्यको बैठक राखेर विभिन्न जिम्मेवारी हेरफेर गरेका थिए । त्यसैको परकम्प स्वरूप नेपाल पक्षले पनि शनिवार बैठक राखेर समानान्तर कमिटी बनाएको हो ।
अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपाल पक्षका नेता एक अर्कालाई सिद्ध्याउने र देखाइदिने अराजनीतिक संस्कारसहित अघि बढेको भन्दै कार्यकर्ता रुष्ट छन् । उनीहरूले पार्टी जोगाउन दुवै पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शुक्रवार नेताको जिम्मेवारी हेरफेर गरे लगत्तै वरिष्ठ नेता नेपाल समूहले समेत शनिवार आफ्नो भेलाबाट समान्तर कमिटी विस्तार गरेको छ । शनिवार नेपाल समूहको स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ ।
नेपाल समूहले यो साता एमाले सांसद र केन्द्रीय सदस्यको छुट्टाछुट्टै भेला गरेका थिए । लगतै शुक्रवार ओली समूहले समेत केन्द्रीय सदस्यको भेला प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना ग-यो ।
सोही भेलालाई आधिकारिक केन्द्रीय कमिटीको बैठक भन्दै महत्त्वपूर्ण निर्णय गरेपछि नेपाल र खनाल समूहले सो निर्णय अस्वीकार गरी प्रदेश इन्चार्ज तथा विभागीय जिम्मेवारी तोकेको हो । राजधानी दैनिकबाट