काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो ।
बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए । सो क्रममा उनले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गरेका छन् । “भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनुपर्दछ”, उनले भने, “अहिलेदेखि राम्रो गर्दै जानुभयो भने भविष्यमा अवश्य पनि राम्रो मान्छे बन्नुहुनेछ ।” अहिले वितरण गरेको रकम देख्दा थोरै देखिए पनि एक पैसा पनि नभएको भन्दा यसले खर्च गर्न सहयोग पुग्ने उनी बताउँछन् ।