बेलुकीको करिब ७ बजेको थियो, मलाइ सानेपा कालो पुल देखी कपन निलो पुल जानु थियो ।
चिसो मौसम भएर होला १० मिनेटको कुराई पनि धेरै लाग्यो, ट्याक्सी पनि त्यो बाटो देखा परेनन् ।
बस माइक्रो लाग्ने ठाउँ पुग्न १५ मिनेट अझै हिँड्नुपर्ने थियो । यत्तिकैमा साथीले पठाओ ट्राई गर्ने सल्लाह दियो ।
अरू उपाय पनि थिएन । उसैको मोबाइलबाट म जानुपर्ने ठाउँ सर्च गर्यो ।
एकै छिन मा फोन आयो, ‘म सुरज पठाओ बाट । करिब ३ मिनेटमा म सुरज भनेर बाइक आइपुग्यो, म चढे ।’
बाग्मती किनारको खुल्ला बाटो अघि बढ्दै गर्दा मैले सोधे , के जागिर भन्दा यो पेसा राम्रो हो त ? उसले हाँस्दै जवाफ दियो जागिरमा भए १०-१५ हजार कमाउन महिना लाग्छ फेरि बिरामी हुँदा वा आफलाई मुड नचल्दा आराम गर्न समेत गाह्रो , फेरि भन्ने बितिक्कै जागिर कस्ले दिन्छ दाइ ?
सोचे देशको अवस्था बेरोजगारी समस्या हेर्दा भाइको कुरो नि ठिक हो ।
फेरि मैले सोधे दिनमा कति कमाइ हुन्छ त ?
कहिले हजार कहिले २००० समय हेरेर, उसले भन्यो ।
आफूले कमाएको २० % पठाओ लाई बुझाउनुपर्ने रहेछ तथापि काममा उनी खुसी थिए ।
मैले ठ्याक्कै पठाएको गुन गान गाउन खोजेको त हैन, आज मलाई परेको समस्या समाधान भएको भएर पनि हैन ।
सोच्दै छु यस्तो सकारात्मक कामहरूले कैयौँको चुलो बलेको होला, परिवार पालिएको होला ।
बेरोजगारी समस्याले युवाहरूमा हुने डिप्रेसन, कुलत, हिंसात्मक गतिविधि, कम भएका होलान् ।
कैयौँले बिहान कलेज पढेर दिनमा कमाउँदै काठमाडौँलाई झेल्दै होलान् । काठमाडौँ, जहाँ पानी किन्ने पैसो नभए बाच्न सकिन्न ।
बेरोजगारी समस्याले आत्महत्या गर्न सक्नेहरू लाई पठाओ, टुटल जस्ता नयाँ रोजगारीले युवाहरूलाई जीवन जिउन थप ऊर्जा दिइरहेको होला ।
साँच्चै भन्ने हो भने यस्ता रोजगारीले युवाहरूलाई रोजिरोटि मात्र हैन राज्यकै दायित्व कम गर्न सहयोग पनि गरिरहेको महसुस गरे ।
फेरि पनि भन्न मन लाग्यो यो व्यावसायिक विज्ञापन गर्न खोजेको होइन । आजको भोगाइ शेयर गरेको मात्र हो । अरू कुनै व्यवसायीलाई ठेस पुगेमा संयोग मात्र हुनेछ ।
यो स्टोरी जय मानन्धरले गर्नुभएको अनुभवको आधारमा प्रकाशित गरेको हो । हजुरहरुसँग पनि यस्ता अनुभवहरु छन् भने हामीलाई ktmdainikofficial[at] gmail.com मा इमेल पठाउन सक्नुहुनेछ ।