कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको सन्दर्भमा राइड सेयरिङ प्लाटफर्म ‘पठाओ’मा भने बेरोजगार भएका व्यक्तिहरुलाई स्वरोजगार बनाइरहेको छ ।
अनलाइन तालिम लिएर दैनिक पठाओमा दर्ता हुनेको संख्या २ सय नाघ्नुले पनि यसको लोकप्रियता बढेको सहजै अनुमान लगाउन सकिन्छ । ।
कोरोना भाइरसको संक्रमणअगाडी कार्यालयमै संचालन हुँदै आएको राइडरका लागि आधारभुत तालिम अहिले भने अनलाइन मार्फत नै संचालन भैरहेको पठाओ नेपाल प्रालिले जनाएको छ ।
पठाओमा कसरी जोडिने?
कुनै पनि व्यक्तिसँग २ पाङ्ग्रे सवारी साधन छ र उक्त साधन चलाउने लाइसेन्स (सवारी चालक अनुमति पत्र) छ भने उक्त व्यक्ति पठाओमा आबद्ध हुन सक्छ । त्यसको लागि मध्य बानेश्वरमा रहेको पठाओको कार्यालयमा गएर नाम र फोन नम्बर दर्ता गराउनु पर्छ।
मोबाइलमा म्यासेजमा आएको लिङ्क खोलेर तोकिएको समयमा तालिम लिन सकिन्छ।
सिकेवल नेपाल प्रालिले सहजीकरण गर्ने अनलाइन तालिम करिब १ घण्टा अवधीको हुन्छ।
तालिममा पठाओ एप चलाउन, दर्ता प्रक्रिया र डकुमेन्ट अपलोड गर्न सिकाइन्छ। ग्राहकसँग गर्नुपर्ने व्यबहार र इन्स्योरेन्स पोलिसीका बारेमा पनि तालिममा बताइन्छ। साथै तालिममा राइडका क्रममा आइपर्ने समस्या समाधानका उपाय र कम्पनीको नियमका बिषयमा सुझाइन्छ।
दैनिक २ पटकसम्म संचालन हुने तालिम शनिबार र आइतबार भने एकपटक अर्थात दिउँसोको समयमा मात्र संचालन हुने क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।
तालिम पश्चात् राइडरले पठाओ एपमा आवस्यक कागजात (नागरिकता, ब्लु बुक, सवारी चालक अनुमति पत्र) अपलोड गर्नु पर्ने हुन्छ। पारिवारिक सदस्यको नाममा भएका र फाइनान्स गरिएका बाइक पनि प्रयोग गर्न सकिन्छ।
कागजात अपलोड गरेको ३ दिन भित्रमा पठाओले भेरिफाइड गरेपछी राइडरले काम सुरु गर्न सक्छन्।
कति हुन्छ कमाई
पठाओमा आवद्ध राइडरले मासिक ३० हजारदेखि ४५ हजारसम्म कमाउन सक्छन् । अहिले जाडोको मौसम भएकाले अलिक कमाइ घटेको भएतापनि गर्मियाम बढेसँगै यात्रु बढ्ने र सोहीअनुसार कमाइ पनि बढ्ने एक राइडरले नाम उल्लेख नगरिदिने सर्तमा केटिएम दैनिकलाई बताए ।