प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा किड्नी फेरेर विश्वमै नयाँ रेकर्ड राखेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमै दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री कोही नभएको हुँदा आफुले नयाँ रेकर्ड राखेको बताएका हुन्।
दुई वटा किड्नी फेरेको हुँदा आफू थोरै भए पनि अपाङगता भएको उनले बताएका छन्।
‘मेरो पनि किड्नी फेल भएर अर्को किड्नी ल्याएर जोडेर राख्या छु। म पनि अर्को किड्नीको ह्विलचेयर बोकेर हिँड्या मान्छे हुँ। फेरि त्यो किड्नी पनि फेल भयो। त्यसपछि अर्को किड्नी राखेर नयाँ किड्नीको वैशाखी टेकेर हिंड्या हो। अलिअलि अपाङ्गता नै हो,’उनले भने।
प्रधानमन्त्री ओलीले दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा अरू कोही नभएको दाबी गरेका छन्।
‘आँखामा चस्मा मैले किन लगाएको? यदि लगाइनँ भने म पढ्न सक्दिनँ। त्यसकारण त्यो पनि अलिकति अपाङगता हो। किड्नी फेल भएर पनि अर्को लगाएर पनि बाँच्न सकिन्छ अगाडी बढ्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिएँ। सायद यो पनि विश्व रेकर्ड नै होला दुई वटा किड्नी फेरेको विश्वमा कोही प्रधानमन्त्री छैन।’
२०७६ सालको फाल्गुन तेस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मृगौंला प्रत्यारोपण गरेका हुन् । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डाक्टर प्रेमराज ज्ञावली उक्त समयमा भनेका थिए ओलीको शरीरमा चारवटा मृगौला भएका छन्। वहाँको आफ्नै दुइवटा भए। एउटा मृगौला १२ बर्ष अगाडी लगाइएको भयो। अहिले लगाएको चौथो हो।