सोमबार चितवनमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
सोमबार दिउसो करिव १:०० बजेको समयमा चतुर्मुखी सामुदायिक वन, कालिका नगरपालिका वडा नं. १ स्थित कागति घारी भन्ने ठाउँमा भाले पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।
मृत भेटिएको उक्त बाघको आवश्यक व्यवस्थापन (पोष्टमार्टम समेत) का लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहामा पठाईएको छ ।
घटना सम्बन्धि थप अनुसन्धान जारी रहेको वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।
बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ ।
यसअगाडी पुष १७ गते शुक्रबार कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको थियो ।