घुस लिएको अभियोगमा एक जना इन्सपेक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मा रहेका छन् ।
उनले सवारी दुर्घटना मुद्दामा मिलापत्र गराउने भन्दै १५ हजार रूपैयाँ घुस लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका शर्मालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निलम्बन गरिसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले थानकोट बृत्तका इन्सपेक्टर गायत्रीराज शर्मा लाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको बताए ।
उनले भने, मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको पाइएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
शर्मा मुद्दा फाँटका इन्स्पेक्टर हु्न् । उनी लामो समयदेखि बृत्तको मुद्दा फाँटामा थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा एआईजी हरि पाल आएसँगै उनले मातहतका प्रहरी कार्यालयमा शुद्धिकरण अभियान थालेका छन्। यही क्रममा इन्स्पेक्टर शर्मासहित चार जना प्रहरी कारवाहीमा परेका छन् ।