सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यमले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्न आग्रह गरेका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का पदाधिकारीसँग आज सिंहदरबारमा भएको सामूहिक भेटमा उनले बदलिँदो राजनीतिक परिवेशप्रति सङ्केत गर्दै समाजलाई निराश, द्वन्द्व र अराजकतातर्फ जान नदिन सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मन्त्री गुरुङले भने, “मुलुकमा धेरै सम्भावना छन्, ती सम्भावनाप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन, द्व न्द्व होइन, अराजकता होइन, नयाँ आशा जगाउने काममा सञ्चार माध्यमहरुले प्रेरित गर्नु पर्दछ ।”
समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने उनको भनाइ थियो ।
मन्त्री गुरुङले कुनै पनि सङ्घ संस्थामाथि विभेद हुन नदिने प्रतिबद्धता जाहेर गरे । फोनिजले मन्त्रालयबाट पाउने अनुदान सहायता कटौती नगर्न, सरकारी सञ्चार माध्यमको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्ने लगायत ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको थियो ।
उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले राज्य सबैको साझा भएको उल्लेख गर्दै कुनै पनि खालको विभेद हुन नदिने स्पष्ट पारे ।