पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ बर्षको अवसरमा पारेर झापास्थित पाँच तारे होटल मेची क्राउनमा गएका छन् ।
पुस १२ गते आइतबार परिवारका सदस्य नलिइ एक्लै दमकस्थित हिमालय गुडरिकमा रहेको निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र बिहीबार साँझ मेचीनगरस्थित मेचीक्राउन होटलमा गएका हुन् ।
नयाँ वर्ष २०२१ मनाउनका लागि केही सहयोगी र सुरक्षाकर्मीसहित साँझ ८ बजे होटल पुगेका पूर्वराजा ज्ञानेन्द्र राति नै दमक फर्किएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले बताए ।
पूर्वराजा ज्ञानेन्द्रले होटलका संचालक र केही कर्मचारीसँग सामूहिक फोटो पनि खिचाएका थिए । एक सातादेखि दमक बस्दै आएका ज्ञानेन्द्रले आफन्त, आफ्ना सहयोगी मित्रबाहेक राजनीतिक दलका नेताहरुसँग भने भेट गरेका छैनन् ।
मेची क्राउन होटल उपत्यकावाहिरको दोश्रो पाँचतारे होटल हो । उपत्यकावाहिरको पहिलो पाँच तारे होटल पोखरास्थित फुलबारी होटल हो । यो होटल यसै वर्षदेपखि संचालनमा आएको हो ।
बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन आएको हो ।
चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको छ होटलको विशाल संरचना ।
यो स्थान मेचीनगर नगरपालिकाको वडा नं. ८ मा पर्दछ । करीव ८ बिगाहा क्षेत्रफलमा फैलिएको मेची क्राउन परिसरमा होटल मात्र नभएर क्यासिनो, जिमहाउस, व्यापारिक मल, स्वीमिङ पुललगायतका सुविधादायक भौतिक संरचना समेत छन् ।