पठाओ राइडरद्धारा आफूहरूको माग सम्बोधन नभएको भन्दै कार्यलयमा नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन् । कम्पनीले आफू खुसी निर्णय गर्ने गरेको, कुनै किसिमको सेवा सुविधा नदिएको, राइडिङ बापतको कमिसन धेरै लिएर कामदार मार्ने काम गरेको भन्दैं पठाओ राइडरहरुले सोमबार कार्यालय तोडफोड गरेका हुन् ।
सोमबार राइडरले युएन पार्कबाट कम्पनीविरुद्ध नाराबाजी गर्दै र्याली निकालेर पठाओको कार्यालय मध्य वानेश्वर पुगेर घेराउ गरेका थिए ।
उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव दिँदै आएका छन् । अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।
पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए । त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए ।
मागपत्रमा राइडर र यात्रुको अनिवार्य बिमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टुमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका माग राखेका थिए ।
उक्त माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका थिए । गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएपछि सामूहिक रुपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुंगामुडा र तोडफोड गरेका हुन् ।