काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्दै आएको प्रचण्ड–नेपाल पक्षले सडकमा शक्ति प्रदर्शन तथा आन्दोलन औपचारिक रुपमा थालेको छ ।
सो पक्षका शीर्ष नेताको नेतृत्वमा शुक्रबार (अहिले बिहान) काठमाडौँको माइतीघर मण्डालमा बृहत आन्दोलन भइरहेको छ । दुई अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडकको बिचमा बसेर नाराबाजी गरिरहेका छन् ।
शुक्रबार बिहान ९:३० बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।
उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन्।प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा लगाएका छन्।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्।
माइतीघरमा नाराबाजी गरेपछि उनीहरु पार्टीको आधिकारिकता दाबी गर्नका लागि आफ्नो खेमामा रहेका सबै केन्द्रीय सदस्य तथा सांसदहरुसहित शुक्रबार निर्वाचन आयोग जाने छन् ।
आफूहरुको पक्षमा बहुमत रहेको र आफूहरु नै आधिकारिक नेकपा रहेको देखाउनका लागि प्रचण्ड–नेपाल पक्षले आन्दोलनसहित बृहत टोली लिएर आयोग जान लागेको हो ।