सल्यानमा बहुविवाह गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।
वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई पक्राउ परेका हुन्।
शुक्रबार बेलुका स्थानीय जयतपानी बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।
घरमा दुईजना श्रीमती र दुवै श्रीमतीतर्फ चारजना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भन्दै स्थानीय पाँचजनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको प्रवक्ता ओलीले जनाए।