विश्वभर फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।
नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । नेपालमा हालसम्म २ लाख २ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
चिनको वुहानबाट कोरोना संक्रमण फैलिएको खबर बिश्वभरि फैलिएपनि नेपालले त्यस्को नियन्त्रणमा कुनै पहल नै गरेन । नेपाललाई कोरोना मुक्त्त क्षेत्र घोषणा गरेर पर्यटन भित्र्याउने तयारीमा लाग्नेजस्ता उट्पट्याङ् निर्णयहरु सुनिन थाले । नेपालमा एकजना पनि कोरोना संक्रमित नभएर नेपाल हरियो जोनमा पर्यो भनेर खुशीयाली मनाउन तर्फ लाग्यौं ।
कोराना भाइरसको महामारीले नेपालको अर्थतन्त्रमा पनि धेरै असर गरेको छ । धेरै वर्षहरुको सुस्तता र धिमा गतिपछि नेपाली अर्थतन्त्रले केही गति लिने प्रयास गरिरहेको अवस्थामा अहिलेको विश्वव्यापी स्वास्थ्य संकटले फेरी नेपाललाई केहीहदसम्म पछाडि धकेलेको छ ।
आर्थिक वृद्धि बढ्न लागेको अवस्थामा यो महामारी दुर्भाग्यका रुपमा आएको छ । विगतमा पनि नेपाली अर्थतन्त्रले लामो समयसम्म बारम्बार भैरहने बन्द, हडताल, साथै एक दशक लामो सशस्त्र द्वन्द्ध र नाकाबन्दी व्यहोरोको अनुभव छ साथै, विनाशकारी भुकम्पबाट पार भएर आएको छ ।
प्रत्येक संकटले शिक्षा प्रदान गर्ने र विकल्पको खोजी गर्न बाध्य पार्ने हुँदा दीर्घकालको लागि भने सकारात्मक प्रभाव पार्न पनि सक्छ । तर नेपालमा भने उल्टो भयो । कोरोनाकै कारण बेरोजगारी बढ्यो, आम्दानी घट्नुको साथै बैंकबाट लिएको कर्जा तिर्न नसक्दा साना तथा मझौला व्यवसायी आ-त्मह-त्या गर्ने अवस्थामा आइपुगेका छन् ।
किसानहरु मल नपाएर तड्पिएका छन् । उसो त प्रधानमन्त्री ओलीले बंग्लादेशसँग मल पैचो पनि मागेका थिए,तर नेपालको राजनीतिक अस्थिरता र नेकपाको विवादलाई बंग्लादेशले नपत्याएर मल दिएन भन्ने कुरा पनि सुनिन थालेका छन् । कोरोना लकडाउन र आर्थिक भार खप्न नसकेर मानसिक रोगबाट ग्रस्त हुनेको संख्या दिनानुदिन बढ्दै गएको मनोविद गोपाल ढकाल बताउँछन् ।
कोरोना नियन्त्रण गर्न अन्य देशहरु केहि हदसम्म सफल देखिए तर नेपालमा भने कोरोनालाई नियन्त्रण गर्ने भन्दा पनि कुर्सी जोगाउन लागिपरे । अहिले कोरोना सँगसँगै नेपालको राजनीतिले पनि जनता आजित भएका छन् । एकातिर नेकपाको फुट छ भने अर्को तिर प्रतिपक्षमा रहेको कांग्रेसको मौनता ! महामारीको बेलामा सबै मिलेर नियन्त्रण र रोकथाममा लाग्नु पर्नेमा नेताहरु भने पद पाउन नै दौडधुप गरिरहेका छन् ।
कोरोना विश्वव्यापि महामारीको नेपाली अर्थतन्त्रमा पर्ने प्रभावको जति यथार्थपरक पूर्वानुमान र मुल्याङ्कन गर्न सक्यो, समस्याको समाधान त्यति नै सहज हुने देखिन्छ तर यी सबै कुरालाई बेवास्ता गर्दै सत्तारुढ नेकपामा अहिले विवाद उत्कर्षमा पुगेको छ ।
केही दिन मथ्थर देखिएको विवाद फेरि फुटकै चरणमा पुगेको छ । सत्तरुढ नेकपामा विवाद देखिएको यो पहिलो पटक होइन । यसअघि पनि बेलाबेलामा विवाद देखिदै आएको थियो । यसअघि पनि फुटको सँघारमा पुगेको थियो । तर भागवण्डा मिलेपछि विवाद मथ्थर भयो । कोरोना महामारीलाई लात हानेर आफ्नै पार्टीको विवाद मिलाउन लिप्त भएका राजनीतिक दल र नेताहरुलाई जनाताले आगामी निर्वाचनमा देखाउँलान् ।
नेपालको फोहोरी राजनीतिबाट आजित भएता पनि जनताले जसोतसो त्यति लामो लकडाउनलाई राम्रोसँग इमान्दार भएर साथ दिएका हुन्। जे गर्नुपर्छ भनिएको थियो, त्यसलाई पालन गरेका हुन्। तर सरकारले कति इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्यो भन्ने प्रश्न टड्कारो रुपमा उठ्छ। त्यसैले, अब सबै एकजुट भएर जोखिम समूहलाई सुरक्षित गर्दै नव-सामान्यकरणका लागि रोग नियन्त्रणमा सरकारलाई सहयोग र खबरदारी गर्दै अघि बढ्नुपर्ने देखिन्छ।
खड्का नेपाल पत्रकार मञ्चका उपाध्यक्ष हुन् ।