नेपाल लोडसेडिङ मुक्त भएको वर्षौं बितिसक्यो तर कर्णाली प्रदेशको जुम्ला जिल्लामा हप्ताको एक दुइ दिन मात्र बिजुली आउँछ भन्दा हामीलाई अचम्म लाग्नसक्छ । तर कोही कसैले अचम्म मान्नुपर्ने कुरा छैन वर्षौँ देखि अन्धकार झेलिरहेका जुम्लावासी को समस्या जस्ताको तेस्तै छ ।
विश्वले एक्काइसौं शताब्दीको फन्को मारिरहँदा पनि जुम्लाका समस्या जहाँका त्यहिँ छन्। युगौंदेखि भौगोलिक विकटताले पिछडिएको जुम्ला जिल्ला अझैसम्म पनि पिछडिएको छ ।राजाको शासनकालदेखि सौतेली व्यवहार खेप्दै आएको मेरो जुम्लाले अझैपनि सौतेली ब्यवहार खेपिरहेको छ। कति राजा रजौटा फेरिए कति प्रधानमन्त्री,मन्त्री अनि सरकार फेरिए तर पिछडिएको मेरो जुम्लाको मुहार फेर्न कसैले सकेन । मेरो जुम्ला अझैसम्म दुर्गममै सीमित रह्यो कहिल्यै फेरिएन युगौंदेखि समस्यासँग जुद्धै आएको मेरो जुम्लाको मुहार फेर्ने लिडर कहिल्यै आएनन् ।
२१औँ शताब्दीले जस्तोसुकै गाथा गाए पनि जुम्ला एवं कर्णालीका विकट बस्तीहरूमा देखिएको नियमित विद्युत् , खानेपानी र सरसफाइको अभाव, अशिक्षा गरिबी ,भोकमरी, छुवाछुत तथा छाउपडी जस्ता सामाजिक कुसंस्कारले नराम्ररी सताएको छ। अब हामी आफै विचार गर्न सक्छौँ जुम्ला एवं समस्त कर्णालीको हालत कस्तो छ भनेर ।
नजर डुलाउँदा पाइलै पिच्छे बिजुलीका पोलहरु ठडिएका छन्, चौरमा २ वटा डिजेल प्लान्ट छन् तर जुम्ला अन्धकारमय छ। घरैपिच्छे धाराहरु छन् तर धारामा नियमित पानी नभएर आकुल व्याकुल भएको छ । बाहिरबाट हेर्दा सेवा सुविधा भएको हस्पिटल छ भन्ने छ कठै भनेजस्तो राम्रो सेवा सुविधा दिन सकेको छैन । कोही गाउँमा बिरामी पर्दा हस्पिटल सम्म ल्याउने सवारी साधन एम्बुलेन्सको कुरा त परै जावोस एउटा stretcher सम्म छैन ।हेर्दा सबैलाइ लाग्नसक्छ घर- घरसम्म बाटोघाटो पुगेको छ तर बाटोको डिजाइन गुणस्तर र बाटोमा गुडिरहेको गाडी कहिल्यै देखिँदैन। विद्यालय छन् तर विद्यार्थी देखिँदैन। गन्तव्य एउटै छ विकासको नाममा प्रकृतिको बिनास हुनेगरी ३,४ ठाउँबाट बाटो खनिएको छ जसको शक्ति उसकै भक्ति छ।
करिब २० दिनको जुम्ला बसाईमा युगौंदेखि झेल्दै आएका जुम्लि जनताले भोगेका विभिन्न समस्या सँग फेरी पनि मैले जुधेर बस्नुपर्यो। सुन्थें पहिलाभन्दा जुम्ला केही विकसित भएको छ तर २,४ कामहरु बाहेक अरु केही कुरामा विकसित भएको देखिन।
२० दिनको जुम्ला बसाइमा राम्रोसँग बत्तीको मुहार पनि देख्न सकिएन। यताउती हेर्दा बत्तीका अनगिन्ती पोलहरू ठडिएका नेपाल विद्युत प्राधिकरणका , साना जलविद्युत आयोजनाका, समितिले सञ्चालन गरिरहेका विद्युतका पोलहरु थिए पोल माथि बत्तीको तार पनि तानिएको थियो खबर सुन्थे तानिएका तारहरु विद्युत गृहमा जोडिएका छन् र नयाँ विद्युत गृहबाट उत्पादन भएको बत्ती १ दिन पनि राम्रोसँग बाल्न नपाउँदै गएको कैयौं दिन बितिसक्दा पनि आएको छैन।
“सदियौंदेखि झरो र टुकीको सहायताले उज्यालो गरिरहेका जुम्ली जनताहरु अझैपनि घर अगाडि ठडिएका विद्युतका पोलहरुमा तानिएका तारहरू हेर्दै बत्ती आउने आशामा झरो र टुकी बालिरहेका छन्। बर्षमा एकचोटि आउने दशै तिहारजस्ता चाडपर्वहरु पनी जुम्ली जनताले बत्तीको अभावमा अन्धकारमै मनाइरहेका छन्। नेपालका सहरी बस्तीहरु झलमल्ल बत्तीले झकिझकाउ हुँदा पिछडिएको गाउँ मेरो जुम्ला अझैपनि अन्धकारमा रुमल्लिरहेको छ।”
जुम्लामा अन्धकार भएपछि गत वर्ष सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न २४ लाख ६० हजार उपलब्ध गराए। २ सय केभी (१६० किलोवाट) क्षमताको उपकरण ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो।
तर, डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ। जुम्लाको बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसद्सम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो, तर डिजेल भने पठाएन। त्यो उपकरण पनि ल्याएदेखि थन्किएको छ।
विद्युतको अभावले गर्दा जुम्लामा उद्योग कम्पनीहरु खुल्न पनि सकेका छैनन् र भएका साना उद्योगहरु पनि धमाधम बन्द भइरहेका छन्। वर्तमान अवस्थामा कुनै पनि विकासको काम गर्दाखेरि विद्युत् अति नै आवश्यक पर्ने हुन्छ जहाँ विद्युत् छैन त्यो क्षेत्र पिछडिएको हुन्छ। आफूले चलाउने मोबाइल देखि ठूला कलकारखाना चल्न सम्म हाम्लाई विद्युतको आवश्यक पर्छ।
कोरोनाको कारणले गर्दा अहिले सम्पूर्ण काम कारोबारहरु डिजिटल माध्यमबाट हुने गरेका छन्।विद्यालयका पठनपाठन देखिन् लगेर संघसंस्थाका कार्यक्रमहरू अहिले डिजिटल माध्यमबाट नै हुने गरेका छन् र यो डिजिटल माध्यम सञ्चालनको लागि विद्युत् अनिवार्य छ।
अब कुरा गरौं मेरो जन्म जिल्ला जुम्लाको जहाँ कि महिना दिनसम्म बत्तीको मुहार देख्न सकिँदैन त्यस ठाउँको अवस्था कस्तो होला हामी सोच्न पनि सक्दैनौ। विकासको मुख्य आधार नै विद्युत् हो जहाँ विद्युत् छैन त्यहाँको जीवन कस्तो होला।वर्तमान अवस्थामा विद्युत बिना कुनैपनि दैनिकी कामहरु गर्न सकिँदैन।विद्यालय तथा विश्वविद्यालयहरूले अनलाईन विधिबाट कक्षा तथा परीक्षाहरु सञ्चालन गरिरहेका छन् दूरदराज एवं दुर्गम ठाउँका विद्यार्थीलाई कति समस्यामा भएको होला हामी सोच्न पनि सक्दैनौ। आफ्नै घरमा बसेर कक्षा लिने र परीक्षा दिने कसलाई मन हुँदैन हो सबैलाई हुन्छ सकिनसकी मोवाइलमा डेटा प्याक लगेर गाउँघरका डाँडाकाँडा अनि रुखको टुप्पामा बसेर अनलाइन कक्षामा सहभागिता त हुन सकिएला तर मोबाइल चार्ज गर्ने बत्ति छैन र भनेको बेला नेट पनि चल्दैन। योबेला दुर्गमका विद्यार्थीहरुलाई बत्ती र नेटले गर्दा एकदम मर्कामा पारेको छ।
जुम्लामा विद्युत् नहुँदा दैनिक क्रियाकलापमा समस्या आएको छ। मोबाइल चार्जदेखि उद्योग कलकारखाना सञ्चालन गर्न नसकिने भएको छ। विद्युत सेवा नआउने भए संगै स्थानीय फोटोकपी, प्रेस सञ्चालकहरुले सेवाग्राहीलाई महंगो सेवा प्रदान गर्दै आइराखेका छन्। मोबाइल चार्ज गर्न नसक्दा जिल्ला वाहिर रहेका आफन्तजनसंग कुराकानी गर्न सकेका छैनन्। स्थानीय एफएम स्टेशनहरु वन्द हुने अवस्थामा छन्।
कर्णाली प्रदेश सरकारले डिजिटलमय प्रदेश बनाउने भन्दै आएकोमा दैनिक लोडसेडिङको मार खेप्नु परेकोमा स्थानीय दुःखी छन्। लोडसेडिङका कारण सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने दैनिक क्रियाकलाप प्रभावित हुने गरेका छन्। लोडसेडिङले बैकिङ कारोवारमा समेत समस्या ल्याएको छ।
जुम्ला खलंगाको विद्युत समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले एक मेगावट सोलार प्लान्ट राख्ने तयारी पनि थालेको थियो यसको काम कहाँ कत्तिसम्म पुग्यो त्यसको थाहा पत्तो सम्म छैन। आशा गरौ त्यो कामले गति लिनेछ र जुम्ली जनताले झलमल्ल झिलिमिली बत्ती बाल्न पाउनेछन्।
अन्ततः आशा छ घर अगाडि आगनमा ठडिएका बत्तीका पोलहरुमा तानिएका तारहरूमा बत्ति आउनेछ अनि सदियौंदेखि झरो र टुकीको भरमा उज्यालो गरिरहेका जुम्ली जनताको मुहारमा बत्तीले उज्यालो छर्ने छ र विकासको कामले गति लिने छ।