पछिल्लो समयमा लगातार रुपमा बलात्कार र यौन हिंसाका घटनाहरु बढिरहेका समाचार हामीले सुनिरहेका छौं ,देखिरहेका छौं।बलात्कारको बिरुद्धमा फरक फरक ठाउँहरूमा फरक फरक तरिकाले यसको बिरोध भइरहेका छन्,आवाजहरु उठिरहेका छन्।
महिलामाथि हुने अर्को एउटा जघन्य अपराध एसिड आक्रमण पनि हो।महिलामाथि मात्र नभनौ पुरुषहरु पनि यौन हिंसा र एसिड आक्रमणको शिकार नबनेका होइनन्।तर तुलनात्मक रुपमा हेर्दा महिलाको तुलनामा पुरुषहरु कमै मात्रामा पिडित देखिन्छन् ।सङ्ख्यात्मक हिसाबले हेर्दा कम छ भन्दैमा यसलाई नजरअन्दाज गर्न भने मिल्दैन ।पिडित पिडित नै हो चाहे त्यो पुरुष होस् या महिला। कुनै पनि ब्याक्ति कुनै पनि कारणबाट हिंसा पर्नु हुदैन ।सबैले उचित न्याय पाउनु पर्छ। पुरुष र महिलाबीचको असमान खाल्डोलाई मेटाउन र यसलाई कायम राख्न नै “नारी वाद ” शब्दले जन्म लिएको हो।यसको ब्युत्पति पुरुषहरुलाई दबाएर राख्न या नारीलाई पुरुष भन्दा माथि स्थान दिइयोस् भनेर गरिएको होइन।
त्यसो त यस्ता सामाजिक अपराधहरु पहिले देखि नै समाजमा ब्याप्त नभएका होइनन् तर अहिले आएर समाजमा घट्ने यस्ता घटनालाई लुकाएर राख्नु पनि एउटा अपराध हो र अपराधीलाई अझ बढि उत्साहित गर्नु हो भन्ने चेतना बिस्तारै आइसकेको छ।परिणामस्वरूप आज बलात्कार तथा अन्य यौनजन्य अपराध बिरुद्ध आवाजहरु बुलन्द भइसकेका छन् ।जे होस् यसलाई पनि एउटा परिवर्तनको राम्रो सुरुवात मान्न सकिन्छ ।
सदिंयौ देखि पितृसत्ताले ओगटेको हाम्रो समाजमा छोरीले आमाको गर्भमा आएदेखि यस धर्तीमा आफ्नो जन्म पश्चात मृत्युपर्यान्त सम्म डर र त्रासको भूमरीमा सङ्घर्ष गर्दै बाच्नु पर्ने बाध्यता रहेको छ। गर्भभित्र हुँदा जन्मिनु पूर्व नै मारिन्छन् कि भन्ने डर जन्मिसकेपछि समाजको डर आफ्नो योनीमा लुकाइदिएको जो छ घर परिवार र समाजको इज्जत… कहिँ दाग लागिहाल्यो भने त??यस्तै यस्तै कुराहरु सिकाइन्छ यहाँ छोरीहरुलाई तर छोरालाई तिमी पनि छोरी जस्तै घरको सान,मान र सम्मान हौ भनिदैन।जसरी छोरीलाई अरु लोग्नेमान्छेको छेउ पर्नु हुदैन भनेर सिकाइन्छ त्यसरी नै छोरालाई पनि नारीहरुमाथि गिद्धे दृष्टिकोण राख्नु हुदैन भनेर सिकाइदैन ।बरु उल्टै पोथी बासेको राम्रो हुदैन भन्दै छोरीलाई चुप गराउने र “के आईमाई जस्तो काँतर रहेछ यो नामर्द त “भन्दै छोरा मान्छेमा उसको पुरुषार्थप्रति दम्भ गराउने र महिलालाई कमजोर देखाउने काम हुन्छन् यहाँ।
महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्दै जानुको मुख्य कारण पुरुषवादी समाज मात्र नभएर धनी र गरिब बिच हुने वर्गबिभेद पनि एक हो।यहाँ सत्ता र शक्तिको आडमा लुकेर कमजोर वर्गमाथि अत्याचार गर्ने रक्तपिपासु हरुको जमात छुट्टै छ। आफुलाई सर्बै सर्ब ठान्ने यिनै भक्षकहरु गरिब र निमुखाहरुलाई कठपुतली बनाएर आफ्नो इसारामा नचाउन खोज्छन। घरेलु तथा यौन हिंसाको शिकार भएका धेरैजसो महिला तथा बालबालिकाहरु बिपन्न परिवारका हुने गर्छन् ।गाँस,बास र कपासका लागि सम्पन्नवर्ग माथि निर्भर हुनुपर्ने बाध्यात्मक अवस्थाका कारण आफुमाथि हुने हिंसाको प्रतिकार गर्न र अपराधिको खिलाफमा आवाज उठाउन उनीहरु असक्षम छन्। महिला हिंसाका घटना न्युनिकरण गर्नु छ भने महिलाहरुले आत्मनिर्भर हुन जरुरी छ।
अस्ति भर्खरै मात्र देशको अत्यन्तै महत्वपूर्ण पद र यसको जिम्मेवारी सम्हालिरहनु भएका माननिय गृहमन्त्री रामबहादुर थापाले बलात्कारको बिषयमा दिनुभएको गैरजिम्मेवारपूर्ण अभिब्यक्तिले अत्यन्तै दुखित तुल्याएको थियो। यसको बारेमा सामाजिक सन्जाल फेसबुक टुइटर आदिमा निकै चर्चा सुनियो।अरु देशको तुलनामा नेपालमा बलात्कारको घटनाको अवस्था सामान्य रहेको कुरा उल्लेख गरिरहदा मन्त्री ज्यूलाई मेरो प्रश्न के छ भने “हाम्रो देशमा दिनप्रतिदिन बढिरहेका बलात्कारका घटनाहरुले असामान्य रुप लिनका लागि अब अझै अरु कति छोरीचेलीहरुले बलात्कृत हुनुपर्ने हो?यसलाई राज्यले असाधारण रुपमा लिनका लागि के कति मापदण्ड पुरा गर्नु पर्ने हो?”
बलात्कार र यस्ता कुनै पनि खाल्का सामाजिक अपराधलाई जरै देखि निर्मूल पार्ने पिडितलाई न्याय दिलाउने कुरा त कहाँ हो कहाँ बरु उल्टै अरु देशसँग सङ्ख्यात्मक रुपमा तुलना गरी सामान्य रुपमा लिने?यदि अरु देशहरुसँग तुलना नै गर्ने हो भने हाम्रो देशको शैक्षिक गुणस्तरको अवस्थासँगै तुलना गर्नुस् , युवा रोजगारीको अवस्थासँग तुलना गर्नुस् , माहामारीको चपेटामा परेका जनताको स्वास्थ्य अवस्था र पहुंचसँग तुलना गर्नुस, बिकासको गतिको अवस्थासँग तुलना गर्नुस् ।कमसेकम यसले सबैलाई आफ्ना कमिकमजोरीलाई केलाउदै भाबी योजना,रणनीति, उन्नति र विकासतर्फ त अग्रसर गर्ने छ।अपराधसँग किन तुलना गर्ने?झण्डै दुईतिहाइको सरकार भएको हाम्रो देशमा एउटी बालिकाको बलात्कारपछि हत्या भएको दुइ बर्ष बितिसक्दा पनि न त बलत्कारी नै पत्ता लगाउन सक्यो न त पिडित पक्षले नै न्याय पाउन सकेका छन्।यहि हो दुईतिहाइको सामर्थ्य?
खैर!हाम्रो समाजमा घट्ने यस्ता बलात्कार र यौनजन्य अपराधलाई रोक्न हामीले सरकारलाई मात्र दोष र दबाब दिनु उचित हुदैन। हामीले पनि आफ्नो अधिकार र कर्तव्यलाई बुझनु जरुरी छ। केही महिना अघि मात्र एसिड आक्रमणको सम्बन्धमा सरकारले गरेको निर्णय तारिफयोग्य छ।तर यसको ब्यबहारिक रुपमा कार्यान्वयन कति प्रभावकारी हुनेछ भन्ने कुरा भने हेर्न बाँकी नै छ।
नौ महिनाकी बालिका देखि लिएर ७०/७५ बर्षकी बृद्ध हजुरआमासम्म बलात्कारको शिकार भएको हामीसबैलाई थाहा छ।कतिपय बालबालिकाले आफु molest भएको कुरा पत्तै पाउँदैनन् ।आफुलाई उसले के गरिरहेको छ भन्ने कुरा ठम्याउनै सक्दैनन् ।घरपरिवार र आमालाई बालबालिकाको पहिलो पाठशाला र गुरु मानिन्छ ।त्यसैले बालबालिकालाई बिशेष गरी आमाबाटै good touch र bad touch बिचको फरक छुट्याउन सिकाउँ ।महिला शिक्षा सँगै बालबालिका हरुलाई sex education र self defence पनि अनिवार्य बनाउनुपर्छ ताकि भोलीको दिनमा आफुसँग यस्ता घटनाहरु घटेमा सबैले निर्धक्क र निडर भएर अरुलाई बताउन र आफुलाई बचाउन सकुन्।