जिल्ला प्रहरी कार्यालय चितवनले रु ३ लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् ।
नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्दा लोप्चनको साथबाट रु एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको थियो । उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु एक हजार र बर्तौला किराना पसलमा तिरेको रु छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ ।
निजको घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा रु.१ हजार दरको ३०२ थान नोटहरु गरी एक हजारका ३२१ थान नक्कली नोटहरु बरामद गरी लोप्चनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मु-द्दासम्बन्धी कसूरमा समय थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
यस कसूरमा १० वर्षसम्म कै’द वा रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । नक्कली नोट कारोबारमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी प्रमुख गुरुङले जानकारी दिए ।