घरमा रमाइलोसंग दशैं मनाउन भन्दै भारतवाट नेपाल फर्कदै गरेका ५ जना नेपालीको दुर्घटनामा परि निधन भएको छ । घटनामा अन्य थप ३ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भिरमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै निधन भएको छ ।
शनिवार राती १ बजेतिर भैरहवाबाट कटारी हुँदै ओखलढुंगा मानेभन्ज्याङ्क जान लागेको बा २० प ७१७१ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परि चालक सहित अन्य तीन जना भने घाइते भएका छन् । निधन हुनेमा मानेभन्ज्याङ्का ४५ वर्षीय रामबहादुर सार्की र कर्ने सार्कीको भने सनाखत भइसकेको छ । अन्यको पहिचान खुलेको छैन ।
‘पाँच जनाको घटनास्थलमै निधन भएको हो । तीन जनलाई थप उपचारको लागि विराटनगर पठाएका छौं’, जिल्ला प्रहरी कार्यालय उदयरपुरका डीएसपी वेदप्रसाद गौतमले भने ।
गाडीमा यान्त्रिक गडबढी हुँदा दुर्घटना भएको प्रारम्भिक रुपमा देखिएको प्रहरीले जानकरी दिएको छ । गाडी सडकबाट करिब १ मिटर तल खसेको छ ।
गाडी चालक रुपन्देही त्रिगम्बा नगरपालिका ४ का २८ वर्षीय पवन खड्का गम्भिर घाइते भएका छन् । उनीहरु भारतबाट दशैं मनाउन घर फर्किएको खुलेको छ । भैरहवामा केही दिन क्वारेन्टाइन बसेर जीप रिजर्भ गरेर आएको डीएसपी गौतमले बताए ।