लोकप्रिय रेष्टुरेण्ट सञ्जाल बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चासिले आवद्ध भएका छन् ।
“प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित भएका चालिसे यही आश्विन १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएको उनले केटिएम दैनिकलाई बताए ।
बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए भने नेपालमा सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड” बाट पनि सम्मानित भएका थिए ।
विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मम, मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गर्नुभएका सेफ चालिसेले “मल्टी कुजिन कुक बुक”, “खाना स्वच्छता किताब”, राष्ट्रिय पत्र पत्रिकामा खाना विधि तथा राष्ट्रिय टेलिभिजन मार्फत थुप्रै सामाग्रीहरु पस्किसकेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवाले ग्राहकहरुको चहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको जनाएको छ ।
सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्नुहुनेछ । यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा थप एकरुपता आउने कम्पनीको दावी छ ।