लकडाउनले गर्दा परीक्षण गर्न कठिनाइ भोगिरहेका पौडी खेलाडीलाई प्रशिक्षण सामाग्री वितरण गरिएको छ । उनीहरुको क्षमता बिकास गर्नको लागि अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा अवस्थित पौडी परिसरमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यको अध्यक्षतामा आयोजित एक कार्यक्रममा उक्त्त सामाग्री बितरण गरिएको हो ।
नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ, उपाध्यक्ष राजेश वज्राचार्य, कोषाध्यक्ष नाजिरुद्दिन मुस्लिम केन्द्रीय सदस्यद्वय रंजन भट्टराई र सागर शाक्य प्रमुख प्रशिक्षक शंकर कार्की, प्रशिक्षक वांग्देन लामा लगायत पौडी खेलाडीका अभिभावकहरुको उपस्थितिमा बितरण गरेका हुन् ।
नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पौडी प्रतियोगितामा प्राप्त नतिजाको आधारमा उत्कृष्ट मध्येका ५ महिला र ५ पुरुष खेलाडीहरुलाई आगामी १९औं एशियाली खेलकुद तथा १४औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउनको लागि प्रशिक्षित गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको हो ।
कोरोनाको कारणले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदद्वारा सबैखाले नियमित तयारी तथा प्रशिक्षणका गतिविधिमा रोक लगाएको थियो । यस्तो अवस्थामा नियमित तालिम एवम प्रशिक्षण बाट वंचित भएका खेलाडीहरूको प्रदर्शन र लयबध्दतामा ह्रास आउनसक्ने अवस्थाबाट चिन्तित भई एवम यस खालको अति संवेदनशील परिस्थितिबाट गुज्रिरहेका खेलाडीहरूको शारीरिक एवम मानसिक अवस्था लाई सबल र सुदृढ राखि आगामी प्रतियोगिताहरुमा उनिहरुको प्रदर्शनको उत्कृष्टता र लयबध्दता कायम राखिरहन आवश्यक सहयोग पुर्याएको हो ।