जब सम्म जीवनको सास चल्नेछ,
कतै प्रेम त कतै टकराव हुनेछ ।
कतै बन्नेछन् सम्बन्धहरु भित्री मन बाट,
त कतै आत्मीयताको अभाव हुनेछ ।
कतै पाईएला जीवनमा प्रसंशा,
त कतै गुनासोको प्रवाह हुनेछ ।
कतै पाईएला साँचो हृदयबाट आशिष्,
त कतै भावनाहरूमा दुर्भाव हुनेछ ।
कतै बन्नेछन् बिराना सम्बन्धहरु पनि आफ्ना,
त कतै आफन्तहरुबाट तनाव हुनेछ ।
कतै अनुहारमा खुशी हुनेछ,
त कतै पछाडि बाट दुष्टताको घाउ हुनेछ ।
तिमी हिन्दै रहनु आफ्नो कर्मबाटोमा,
जस्तो तिम्रो भाव त्यस्तै प्रभाव हुनेछ ।
राख्नु व्यवहारमा शुद्धताको स्पर्श तिमीले,
जीवनको युद्धमा ‘जित्ने तिम्रो स्वभाव हुनेछ’ ।
—दीपक बडुवाल (सुर्खेत)