जनकपुर । सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । जयनगर आइपुगेको रेललाई शुक्रबार बिहानै सफा गरेर चिटिक्क पारिएको छ । परीक्षणका लागि शुक्रबार मध्याह्न नेपाली रेल जनकपुर आइपुग्ने भएको छ ।
नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा राखिएका थिए ।
अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए ।
तस्वीर : नयाँ पत्रिका / रंजन भण्डारी