यस वर्षको मलमास अर्थात् अधिकमास अन्य वर्षहरुभन्दा विशेष रहेकाे छ । आश्विन २ गते शुक्रबारदेखि आश्विन ३० गते शुक्रबारसम्म अधिकमासकाे समय रहने छ । सुरु पनि शुक्रबार देखि र अन्त्य पनि शुक्रबारै परेकाले पनि विशेष रुपमा हेरिरहेको छ । १६० वर्ष पछि शुभ संयाेगमा यस्ताे समय जुरेकाे हाे ।
यस अघि विं सं १९१७ साल आश्विन महिनामा पनि यस्तै शुभ संयाेगमा मलमास परेकाे थियाे भने अब विं.सं २०९६ सालमा पनि यहीँ समयमा यस्तै मलमास आउने ज्योतिषहरु बताउँछन् । अधिकमासमा भगवान् नारायणकाे पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा श्रवण गर्ने परम्परा रहिआएको छ ।
अधिकमास अवधिभर शुभ कर्म तथा साईतहरु नहुने भएकाले कुनैपनि प्रकारका साईत जुराएर गर्नुपर्ने शुभ कर्महरु गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएका पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ ।
अधिकमास (मलमास) भनेकाे केहाे ? कस्ताे अवस्था भयाेभने अधिकमास पर्दछ ।
पञ्चाङ्ग गणना अनुसार अधिकमास हुनका लागि जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्येस महिनालाई मलमास (अधिकमास) महिना भनेर गणना गरिएको छ । वैदिक नियमअनुसार सूर्यको गतिअनुसार गणना गरिने मास (महिना) लाई सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनेर वर्गीकरण गरिएको छ । साैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छ ।
अर्काे चन्द्रमास अनुसार दिन गणना गर्दा ३५४ दिन मात्र हुन आउँदछ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार एक वर्षमा ११ दिन बढी हुन आउदछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट पुनः अर्को अधिकमास आउँदछ ।
यस क्रमले गणना गर्दा हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ त्येही बढिभएकाे समयलाई नै अधिकमास अर्थात मलमास भनेर भनिएकाे हाे । सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो ।
सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट पनि अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्ने शास्त्रमा उल्लेख गरिएको छ ।
मलमास वा अधिकमास कुनै डरलाग्दो अशुभ समय भने हाेईन । तिथि,मिति,घडिपला ठीकसँग मिलाउनको लागि मलमासकाे गणना हुने गरेकाे छ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट तारिख र वर्षलाई मिलाइएको हुन्छ । लिप इयर हरेक ४ वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुनेहुँदा जुन महिनामा पनि पर्न सक्ने बताइन्छ ।
अधिकमास परेकाे महिनामा के गर्नु हुन्छ ? के गर्नु हुदैन
अधिकमास परेकाे महिनामा मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएकाे छ । शास्त्रीय नियमअनुसार अतिरिक्त समय भएकाले याे समय अन्य समयभन्दा कमजाेर हुनेहुँदा नयाँ थालनी गरिएका कार्यहरु सफलहुने सम्भावना एकदमै न्युन हुन्छ । यस्ताे समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि,शतचण्डी लगाएका कुनै पनि धार्मिककर्महरु त्यस्तै गृहप्रवेश, नयाँ कार्यको थालनी, नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ ।
नव विवाहित दाम्पत्तीहरूका लागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाधिएपछि एक पटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदी नबारेमा पतिलाई शारीरिक,मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्त मार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ ।
एकपटक बारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताईएकाे छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगायतका कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ ।
अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारण यसलाई पुरुषाेत्तममास भनर पनि भनिएकाे छ ।
पाैराणीक कथाअनुसार सूर्य र चन्द्रमा बिचकाे सन्तुलन मिलाउनका लागि अधिकमासकाे गणना भएकाे हाे । हरेक महिनाकाे मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेकाे महिना या मलमासकाे नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि ऋषि महर्षीहरुकाे आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रह पछि यस अतिरिक्त मलमासकाे मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषाेत्तममास भनेर भनिएकाे हाे र विशेषगरी यस अबधिभर भगवान विष्णुकाे पुजा तथा आरधना गर्ने नियम रहिआएको छ ।
लेखक सुरेश चन्द्र रिजाल उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
सम्पर्क ९८५१०६११२४
ईमेल rijal.suresh 123[at] gmail.com