आज विहान आएको भूकम्पले घर भत्किने डरमा झ्यालबाट हामफाल्दा सिन्धुपाल्चोकमा एक जना घाइते भएका छन् ।
भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी घाइते भएका हुन् ।
उनको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक हरि भट्टराई जानकारी दिए ।खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो भने पोखरा चितवन लगायत पूर्वी नेपालमा समेत धक्का महसुस भएको थियो ।
त्यस्तै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको अनुसार बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको हो ।
बुधबार बिहान गएको ६ म्याग्निच्यूडको भूकम्पले गरेको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । यद्यपी केन्द्रबिन्दुमा यसले क्षति गरेको बुझिएको छ ।