धनुषाकी एक महिलाले आज ४ वटा बच्चालाई जन्म दिएकी थिइन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले जनकपुरको काव्या अस्पतालमा मंगलबार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।
शिशु जन्मिएपछि खातुनको भने मृत्यु भएको छ । फोक्सोमा पानी जमेर पलमन्ड्री एडिमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा. सिंहले जानकारी दिए ।
काव्या अस्पतालमा भर्ना भएकी अरमानाको प्रसूतिका लागि मंगलबार बिहान स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् ।
अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ ।
शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले जानकारी दिए । उनका अनुसार शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिने छ ।