विनय जङ्ग बस्नेत र सपना रोका मगरको दैनिकी टिकाथलीकै वडा नम्बर–५ स्थित सडकमा भोका मानिसलाई सेवा गर्ने क्रममा बित्छ ।
बिहानै उठेर दालमोठ, चिउरा, चाउचाउ लिएर उनीहरु पशुपति पुग्छन् ।रोजगार गुमाएका, घर/डेरा नभएर भोकले छट्पटाइ रहेकाहरूलाई बाँड्छन् । मध्यदिनको १२ बजे घर फर्किन्छन् ।घर पुगेपछि चामल केलाउन थाल्छिन् छोरी सपना । अनि विनय र उनका साथीहरु लाग्छन् तरकारी बनाउनतिर । सानो भवनमा ६/७ जना मानिस करिब ३ सय जनाको लागि खाना पकाउन लागि पर्छन् ।
त्यही बाटो भएर जानेहरुले ठूलो भाँडामा खाना पकाइरहे को दृश्य देख्दा अचम्मित भएर सोध्ने गर्छन्, ‘लकडाउनको बेला पनि ठूलो उत्सव हुँदै छ र ?’ तर, कुनै उत्सवको लागि ती बाबु छोरीले खाना पकाइरहेका होइनन् । नेपालमा गरिएको लकडाउन देखि नै यी बाबु छोरीले सडकमा दालमोठ चिउरा बाँड्ने गरेका थिए ।सरकारले दोस्रोपटक लकडाउन गरेयता उनीहरु भोकाएका मानिसहरुका लागि खानाको व्यवस्था गर्दै आएका छन् । विनय र सपना बेवारिसे लास पोल्ने मान्छे हुन् । उनीहरु चाहँदैनन्, कोही मान्छे भोको पेटकै कारण मरोस् र उनीहरुलाई जलाउनु परोस् ।
‘सडकमा खान नपाएर मानिसहरु भोको पेट कै कारण मर्छन् ।’ विनय सुनाउँ छन्, ‘त्यसैले कसैलाई भोकको कारण मर्न नदिऊँ भन्ने हाम्रो चाहना छ ।’ यही चाहनाका साथ टिकाथलीबाट पशुपतिसम्म प्याकिङ गरेर बाइकमा खाना पशुपति पुर्याउँछन् उनीहरु । र प्रफुल्ल मनले खाना वितरण गर्छन् ।दैनिक ३ सय जनालाई निशुल्क खाना खुँवाउँदै मनकारी बाबुछोरी