९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवती पक्राउ परेकी छिन्।
बुधबार मध्यराति प्रहरीले चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरेको हो।
धादिङ गजुरी गाउँपालिका-८ की उनी बलम्बुमा डेरा गरी बस्थिन्। महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार उनको कोठाबाट चरेस बरामद गरिएको हो।
खाटमुनि जेब्रा झोलामा लुकाएर राखेको चरेससहित प्रहरीले थिङलाई पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
उनका श्रीमान फूलबहादुर तामाङ फरार रहेको श्रेष्ठले बताए। थिङमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।