काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले साउन २२ मा निधन भएका आफ्ना ८४ वर्षीय बुवाको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको बताएका छन् ।
उनले बुवाको दाहसंस्कारसमेत भइसकेको अवस्थमा सरकारले कोरोना पुष्टि गरेपछि आक्रोश समेत पोखेका छन् ।
कोरोना थियो भने अस्पतालले किन शव लैजान दबाब दिइयो भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखेका छन् ।
उनले आफ्ना बुवाको मृत्युमा समेत राजनीति गर्न खोजिएको आरोप लगाएका छन्। राजनीतिक कुचेष्टासहित बुवाको शव पीसीआर रिपोर्टसमेत नआई जवरजस्ती अस्पतालबाट लगिएको भनेर आफूलाई बदनाम गर्न खोजिएकोमा गुनासो समेत गरेका छन् ।
‘वास्तवमा बुबाको मृत्यु दुवै किड्नी खराब भएकाले हो । उपचारमा संलग्न स्वास्थकर्मीले तुरुन्त शव निकाल्नु भन्दा पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्रै शव निकालेका थियौँ’, उनले भनेका छन्, ‘शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा सुरुमा पीसीआर नेगेटिभ देखिएको थियो।’
स्वास्थ्यमा पुनस् समस्या आएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको उनले बताएका छन् । त्यहाँ डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएको उनले बताए।
‘डाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं’, उनले भनेका छन्, ‘दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए।’
बस्नेतले मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन्।
‘नमुना लिएको ६ घण्टामा आउने रिपोर्ट कोरोना लागेर मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयबाट एक सातापछि समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी छैन’, उनले भने, ‘यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजानु भन्ने अमानवीय हर्कत भयो रु’
उनका पिताको दाहसंस्कारपछि कोरोना पुष्टि भएपछि अहिले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।