
सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए ।
शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो । दूधकुण्ड क्षेत्रमा रहनुभएका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताए । सो पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उहाँको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।
दूधकुण्ड क्षेत्रमा चांैरी गोठमा रहनुभएका लाक्पा लामाका अनुसार चोकर्म पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताए । चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उनको भनाइ छ । रासससँगको टेलिफोन सम्पर्कमा उनले अझै पनि चोकर्म ताल फुटेर चोतारे पोखरीमा आउने सम्भावना बढी भएकाले आवश्यक सुरक्षा नीति अपनाउनुपर्ने बताए ।