
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्यापुरीको अध्ययन अघि बढाउन आग्रह गरेका छन्। चितवनको माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई शुक्रबार टेलिफोन गरेर प्रधानमन्त्री ओलीले अयोध्या पुरीको अध्ययन नरोक्न आग्रह गरेका हुन्।
‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ?’ प्रधानमन्त्री ओलीले टेलिफोनमा भनेको विषय उद्धृत गर्दै वडाध्यक्ष सुवेदीले भने, ‘भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ। तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो।’
प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रम लगायत स्थान समेत बलियो आधार भएको दाबी गरेको सुवेदीले जानकारी दिए। ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ,’ उनले भने। हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिनेसमेत बताएका छन्।
‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ’, सुवेदीले भने। हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो। यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेटवार्ता का लागि आज बालुवाटार बोलाएका छन्। माडी नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री ओलीले शनिबार भेटघाटका लागि बोलाएको जानकारी दिए।