
घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार सनसनी बनेर फैलियो ।
कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए । ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलाई आर्थिक सहयोगको ओइरो नै लाग्यो ।
तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ । शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।
यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।
परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।
कार्टुनमा शिशु भेेटिएको भनेर भ्रम फैलाउने केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले शिशुको नाममा सहयोग आएको केही रकम मंगलबार बिहान फिर्ता गरेकी छिन् । हालसम्म शिशुको नाममा ६ लाख रकम संकलन भएको तथ्य खुलेको छ ।
घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।