
काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ५१ सहित देशभरमा ४ सय १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु मध्ये काठमाडौंका ४३, ललितपुर जिल्लाका ३ र भक्तपुर जिल्लाका ५ जना रहेका छन् । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३, ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६ सय ६७ पुगेको छ।
यससँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा ३ सय ५८ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म घर फर्कनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।
अहिले देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ५ हजार ७ सय ८९ संक्रमितहरु उपचार गराइरहेका छन् । तीमध्ये लक्षण नदेखिएका केहीलाई होम आइसोलेसनमा राखिएको छ भने आज भेटिएका संक्रमितमध्ये केहीलाई आइसोलेसन सेन्टरमा ल्याउने क्रम जारी छ ।