साउन । पर्साबाट निर्वाचित जनता समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित पर्सा जिल्लाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
सांसद यादवका अंगरक्षक र चालकलाई पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् । सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् ।
शुक्रबार राति उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाँडै फर्किने छु ।’
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी वृद्घा महिला छिन् ।
उपाध्यायले जानकारी दिएअनुसार शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जनामध्ये प्रतिनिधि सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी छन् ।
यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधि सभा सदस्यका चालक र अङ्गरक्षक १–१ जना रहेको उपाध्यायले जानकारी दिए ।
साउन ११ गते देखि १६ गतेसम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिए ।