
अबदेखि रातको समयमा काठमाडौं प्रवेश गर्न नपाइने भएको छ ।
गृह मन्त्रालयको आदेशसँगै बिहीबार रातिबाटै लागु हुने गरि उपत्यका प्रवेशमा रोक लगाइएको हो । अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्र आवागमनमा रोक लाग्नेछ ।
गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले एक सूचना जारी गर्दै काठमाडौं उपत्यका प्रवेश नाकामा चेकजाँच गर्दा ठूलो संख्यामा कोरोना संक्रमित पाइएका हुनाले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश गर्न निषेध गरिएको बताएका छन् ।
साथै उपत्यका बाहेक जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवम् विना पास अन्तर जिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन जारी गरिएको बताएका छन् ।