वरिष्ठ सङ्गीत साधक उस्ताद भोला जोशीको आज निधन भएको छ । रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत विभागको नेतृत्व गरिसकेका जोशीको ८० वर्षको उमेरमा आज हेटौँडास्थित आफ्नै निवासमा निधन भएको रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले जानकारी दिए ।
दम, मधूमेह तथा उच्च रक्तचापले ग्रसित जोशी लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बसेका थिए । विसं २०२२ देखि रेडियो नेपालमा सङ्गीत श्रृजनामा लागेका जोशीलाई रेडियो नेपालले ‘उस्ताद’ उपाधि दिएको सङ्गीतकर्मीहरु बताउँछन् ।
उस्ताद जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत दिएका छन् ।
हालका चर्चित सङ्गीतकारहरु चेतन सापकोटा, सिखर सन्तोषलगायत थुप्रै गायक गायिकालाई सङ्गीत प्रशिक्षण दिएका जोशी शिक्षण पेशामा आबद्ध रहेका थिए ।
नातिकाजी, शिवशङ्कर, नरराज ढकालजस्ता सङ्गीत साधकहरुसँग रहेर सङ्गीत सिर्जना, वाद्यवाधन तथा गायनमा लामो समयसम्म योगदान दिएका जोशीको निधनले देशको सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको सङ्गीतकार सापकोटा बताउछन् । “सङ्गीतको कखरा सिकाउनुहुने गुरुको निधनले दुखित बनाएको छ”, उनले भने।
जोशीको आजै हेटौंडा–९ स्थित त्रिवेणीधाममा अन्तिम संस्कार गरिएको छ ।