
पत्नी गीता ढकालको हत्या कसुरमा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संयुक्त इजलासबाट भएको फैसलाविरुद्ध सडकमा आन्दोलन सुरु भएको छ।
कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला गलत भएको भन्दै प्रदर्शनकारीले प्रधानन्यायाधीश राणाको राजीनामा र राजीनामा नदिए उनलाई महाभियोग लगाउनुपर्ने माग राखेका छन्।
जिल्ला र पुनरावेदन अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय तोकिएपछि जेलमा रहेका कोइरालाको सजाय कम गर्न सर्वोच्चको संयुक्त इजलासबाट भएको निर्णय पहिलेका नजिर र कानुन प्रतिकूल भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकन माग राखेर शुक्रबार निवेदन दर्ता गरिसकेको छ।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैद फैसला सुनाएका कोइरालाको सजाय ११ वर्ष घटाउने निर्णय सर्वोच्चको संयुक्त इजलासबाट भएपछि त्यसमा पुनरवलोकन हुनुपर्ने माग राखेर निवेदन दर्ता गराइएको हो। निवेदनको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।