
काठमाडौं : रक्षा र गृह-यिनै मन्त्री र मन्त्रालयले कोरोनाको संक्रमण नसकिए पनि लकडाउनलाई ८० प्रतिशत हलुका बनाएका छन् । तर,कुनै हालतमा नखोल्नु, नगर्नु भनेका काममा यी दुबै ठाउँका छोराहरु मध्यरात सँगसँगै भेटिए । शुरू मा त प्रहरीकै भागाभाग भयो । घटना बिहीबार राति १० बजेको हो । लाजिम्पाटस्थित उत्तर ढोकामा यौटा रेष्टुरेण्ट छ ।
त्यसदिन त्यहाँ अत्यधिक मात्रामा गाडी पार्किङ हुँदा ट्राफिक जाम थियो । दरबारमार्ग प्रहरीको भ्यान गस्ती पुग्यो । भ्यान कमाण्डर रहेका सई आफैं भित्र छिरे । तर,भित्र रक्षामन्त्रीका छोरा स्वराज र गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतीक थिए। उनी हरूसँगै एकजना विदेशी नागरिक र सेनाका केही अधिकृत पनि थिए ।
भित्र शक्तिशाली मन्त्रीका छोराहरूलाई देखे पछि पुलिसका भ्यान कमाण्डर निस्किए । उनले दरबारमार्ग प्रहरी बृत्तका फिल्ड कमाण्डर (इन्स्पेक्टर) लाई मोबाइलमा फोन गरे । सईले फोन गरेको १२ मीनेटमा इन्स्पेक्टर त्यहाँ पुगे । उनले पुग्नासाथ रेष्टुरेण्टमा जम्मा भएका मनिसहरुलाई कर्के नजरले हेर्न थाले । रेष्टुरेण्टकै एकजना स्टाफले लखेटिएका केही युवतीबारे भन्दै थिए,सर, उहाँहरु त भिआइपीको गेष्ट हो ।
अनि,इन्स्पेक्टरले पुष्टि गर्न खोजे ‘भिआइपी भनिएका मन्त्रीका छोराहरू हुन् कि हैनन्! ती युवाहरू बसेको टेबुलमा तीनवटा व्हिस्कीका पेग भएको ग्लास,आइस क्युबको बट्टा, छेउमा सिगरेट र लाइटर थियो। इन्स्पेक्टरले भने, ‘तपाईंहरु किन यहाँ ? गइहाल्नुस् …! बादलका छोरा प्रतीकले भने, ‘हाम्रो सल्लाह हुँदैछ । तपाईं आफ्नो काम गर्नुस् ।
इन्स्पेक्टरले झनक्क झन्किएर भने, ‘मेरो कामै भीड हुन नदिने हो । गइहाल्नुस् यहाँबाट ! अर्काले भने, ‘चिन्नुभएन कि क्या हो? इन्स्पेक्टरले जवाफ दिए, ‘तपाईंहरुलाई चिन्न जरुरी छैन,देशको नियम-कानुनले नमिल्ने कुरा कसैले गर्न मिल्दैन । खुरुक्क बाटो लाग्नुस्…! त्यही पनि छोराहरु उठेनन् । त्यसपछि इन्स्पेक्टरले आफ्नो प्रहरी टोलीलाई कराए, ‘ निकाल…छिटोछिटो…! यसक्रममा होहल्ला पनि भयो । अनि,दुई भिआइपी बल्ल बसेको ठाउँबाट उठे । एकजनाले भन्दै थिए, ‘भोलि त होस्,यसलाई देखाइ दिन्छु! प्रहरीले उनको कुरा सुनेको नसुन्यै गरे । प्रहरी टोलीचाहिँ राती १२ बजेसम्म त्यहीँ बस्यो।
जनआस्थामा समाचार छ !