
म्याद नाघेको सामान बेचेपछि अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना तोकिएको छ ।
म्याद नाघेको बेली ब्राण्डको पानी बिक्री गरेको कसुरमा भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
विभागका अनुसार अनामनगर (हनुमानस्थान) स्थित भाटभटेनी स्टोरबाट २४ रुपैयाँ प्रतिबोतल मूल्य अंकित गरिएको बेली ब्रान्डको पानीको म्याद नाघेको अवस्थामा पनि बिक्रि वितरण गरेको पाइएको थियो ।
कानुनमा के छ ?
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कसैले पनि अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न वा गराउन हुँदैन भनेर लेखिएको छ ।
विभागले भाटभटेनीलाई उक्त ऐन दफा १६(२)(क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले कारवाही गरेको जनाएको छ । उक्त दफामा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मुल्य, नापतौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाइ वा झुक्काई त्यस्तो वस्तु वा सेवा विक्रि वा प्रदान गर्न नहुने जनाएको छ ।
यदी उक्त कसुर गरेको ठहरेमा सोही ऐनको दफा ३९ (१)( क देखि ङ) सम्मको कारवाही हुनेछ ।