
श्रीमतीको ह त्या अभियोगमा आठ वर्ष जेल बसेर विहीबार रिहा भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय माफी दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताए ।
कार्यालय समय सकिनु केही बेर अघि मात्र निवेदन सर्वोच्च अदालतमा पेश भएको अदालत स्रोतले जनाएको छ । सर्वोच्चको सजायँ अवधि घटाउने निर्णयमा चित्त नबुझेकाले सो कार्यालयले उक्त निवेदन दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई असार १५ गते सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका हुन् ।
फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेगमा आइ ह-त्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षा/दीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको भनिएको छ ।
२०६८ पुस २७ गते रञ्जनले पत्नी गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएकाे प्रहरीले जनाएको छ । २०६८ साल माघ ८ गते नारायणगढबाट काठमाण्डौ आउँदै गर्दा कोइरालालाई थानकोटबाट पक्राउ गरी मुद्दा चलाइएको थियो ।
बिहीबार रञ्जन रिहा हुँदा उनकी प्रेमिका तारा रेग्मी कार लिएर जेलमा लिन गएकी थिइन् । ताराले जेलमा सञ्चारकर्मीहरुलाई आफ्नो कोइरालासँग विवाह सम्पन्न भइसकेको बताएकी थिइन् ।
श्रीमती ह त्या अभियोगमा रन्जन ०६८ माघ ८ गते पक्राउ परेका कोइरालालाई जिल्ला र तत्कालीन पुनरावेदन सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ । मृतक गीता ढकालका दुई छोराहरु भएतापनि आफ्नो बावुको रिहाइमा उनीहरु उपस्थित थिएनन् ।