
साउन १७ गते शनि प्रदोष परेको छ । के हो शनि प्रदोष किन बसिन्छ ब्रत, कसरी फल मिल्छ र कुन कुन राशिलाई कस्तो प्रभाव पार्छ ?
प्राचीन समयको कुरा हो। एउटा सहरमा शिवधन नाम गरेका वैश्य बसोबास गर्दथे। भौतिक सुखसुविधा सम्पन्नताका कारण ती वैभवपूर्ण जीवनयापन गर्दथे। उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो। ती साहुजी अत्यन्त दयालु थिए। उन कहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो। जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे। यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन्।
सन्तानहीनताका कारण ती साहुका बूढाबुढी नै अतीव चिन्तित थिए। बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे। आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए। तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे। हेर्दा ती साधु तेजस्वी देखिन्थे।
दुबैले ती यसभन्दा पहिले नदेखिएका साधुसित आशीर्वाद प्राप्त गरेर यात्रामा जानु श्रेयस्कर हुने ठहर्याए। ती समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन थिए। समाधिमा रहेका योगीलाई ब्युझाउँदा उल्टै रिसाउने डर पनि थियो। त्यसैले ती दम्पत्ति समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा प्रतीक्षा गर्न थाले। बिहानदेखि नै बसेका ती साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, राती भयो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन।
भोलिपल्ट उज्यालो भएपछि बल्ल जोगी ब्युँझिए। वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोडेर बसिरहेका थिए। ती दम्पतीलाई आफ्ना अगाडि सेठजीका पतिपत्नीलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने – ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ। हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो। त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ।
तिमीहरूलाई सन्तान प्राप्त हुनेछ। अब तीर्थवास गर्ने आवश्यकता छैन। बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर।’ साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवानको भूरिभूरि प्रशंसा गरे अनि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे। साधुले निष्ठापूर्वक विधिविधानले सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रतलगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए। मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती तीर्थयात्रा गर्न गए र यात्राबाट फर्किएपछि घरमा आएर नियमपूर्वक शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोष व्रतका दिन व्रत लिन थाले। कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो। यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो। ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले।
प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ। केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ। विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ। शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले शनिको प्रकोप शान्त हुने गर्दछ र रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ आदि निवारण हुन्छन्। विकिपिडिया
५ राशिलाई शनिको साढे ७ ले दुख दिदैछ । बाँकी कुरा भिडियोमा हेर्नुहोस ।