
नेपालमा चैत ११ देखिको लकडाउन अन्त्य भएको छ ।
सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।
त्यस्तै सरकारले कुन मितिदेखि के के खुल्ने भन्ने निर्णय पनि गरेको छ ।
जस अनुसार साउन १५ गतेदेखि होटेल तथा रेस्टुरेन्ट खुल्न पाउने छन् । तर सामुहिक भोज र पार्टी भने गर्न पाइने छैन ।
त्यस्तै साउन १५ देखि नै ट्रेकिङ, पदयात्रा, पर्वतारोहण लगायतका व्यवसय संचालन गर्न र त्यसको लागि बुकिङ गर्न सकिने भएको छ ।
त्यस्तै भदौ १ गतेदेखि छोटो, मध्यम, र लामो दुरीको सार्वजनिक सवारी संचालन गर्न दिने निर्णय सरकारले गरेको छ । त्यस्तै आन्तरिक र अन्तराष्ट्रिय उडान पनि भदौ १ गते देखि संचालन हुने भएको छ ।
साथै विद्यार्थी भर्ना र परीक्षा संचालन पनि भदौ १ बाट सुरु गर्न सकिने भएको छ ।
खेलहरु र अन्तराष्ट्रिय प्रशिक्षण पनि भदौ १ देखि नै गर्न दिने सरकारले निर्णय गरेको छ ।
अर्को सूचना जारि नभएसम्म शैक्षिक संस्था, प्रदर्शनी, सिनेमा, डान्स बार, सलुन, स्पा, जिम, स्विमिङ पुल, खेलकुद, सामुहिक रुपमा हुने धार्मिक र सामाजिक कार्य तथा चिडियाखाना बन्द रहने छन् ।