
लकडाउन खुकुलो गर्दै जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले अनुमति दिए पनि अस्वीकार गर्दै आएका व्यवसायीहरू अन्ततः सार्वजनिक यातायात सञ्चालन गर्न सहमत भएका छन् । सोमबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ महानगरी ट्राफिक प्रहरी महाशाखालगायत यातायात मजदूर संगठनहरूबीच भएको छलफलपछि साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको हो ।
सहमतिअनुसार यातायात व्यवसायीले सरकारद्वारा तोकिएको स्वास्थ्यसम्बन्धी सबै शर्तहरू पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्ने छन् । यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर, पन्जा, पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने छन् ।
त्यस्तै सार्वजनिक यातायात सञ्चालनका लागि मजदुरहरुको कोरोना बीमा गरिने भएको छ । त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्ने भएका छन् ।
यातायात सञ्चालका क्रममा कोरोना संक्रमणका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्न कोष खडा गर्ने र त्यसका लागि विभागले मन्त्रालयसमक्ष सिफारिस गर्ने सहमति पनि भएको छ ।
सहमतिअनुसार, सावधानीका लागि आवश्यक सामग्री व्यवसायीहरुले नै उपलब्ध गराउनेछन्। “बिहीबार देखि सबै सार्वजनिक यातायात सञ्चालनमा ल्याउँछौं। त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछौं”, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले भने। उनका अनुसार, दिउँसो २ बजे पत्रकार सम्मेलनगरी यातायात सञ्चालनबारे थप जानकारी दिइनेछ। महामारी रोकथामका लागि गएको ११ चैत देखि सरकारले बन्दाबन्दी गरेपछि सार्वजनिक यातायात बन्द छ। केही दिन यता सानो संख्यामा सार्वजनिक यातायात सञ्चालनमा आएको छ।
अब भने सवै सार्वजनिक यातायात सञ्चालनमा आउने राईले बताए। जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात सञ्चालन हुनेछ। “हामीले सतर्कता अपनाएर लामो दूरीको यातायात चलाउन माग गरेका छौं” राईले भने, “यसबारे सीसीएमसीमा छलफल लैजाने सहमति भएको छ।” अहिले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउने सरकारले निर्णय गरेको छ।