अविरल वर्षाका कारण खसेको पहिराले बिजुलीको खम्बा ढल्दा पाल्पा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ ।
अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।
बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन ।
जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ ।
विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट आम नागरिक वञ्चित हुनुपरेको छ । रातमा बिजुली नहुँदा अन्धकारमा रात बिताउनुपर्ने अवस्था छ । वर्षाका कारण बिजुली नहुँदा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक रेडियो र घरेलु उद्योग सञ्चालनमा समस्या देखिएको स्थानीय बासिन्दाको भनाइ छ ।
वितरण शाखाको टोली तीन दिनसम्म खम्बा ढलेको स्थानमा पुगेको छैन । पहिराका कारण आफूहरु सो क्षेत्रमा पुग्न नसकेको प्राधिकारण वितरण शाखाले जनाएको छ ।