सउल – प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ ।
नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो ।
नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ ।
तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेका मध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही प्रवेशाज्ञावधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले बताए ।
यात्रुले टिकटवापत झण्डै रु ८५ हजार तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टिन र क्वारेन्टिन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ ।
नेपाल उड्ने यात्रुले उड्नुअघि पिसिआर जाँच गराएको र सबैको रिपोर्ट नेगेटिभ छ ।
स्वदेश फर्किन चाहने अन्य यात्रुका हकमा भने अर्को चार्टर्ड विमान कहिले उड्ने वा नउड्ने भन्नेबारे बताइएको छैन ।
यसअघि पटकपटक नेपाल एयरलाइन्सको चार्टर्ड विमान काठमाडौँदेखि कोरिया र कोरियाबाट पुनः काठमाडौँ उडाउने भनिए पनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ ।
यससँगै नेपालमा अड्केका नेपाली मजदूर कहिले कोरिया फर्कने भन्ने पनि अन्योल नै छ ।
त्यस्तै आज विहान संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको छ ।
१ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज नेपाली समयअनुसार बिहान त्यहाँबाट उडेको दुबइमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेले बताए ।
आज नेपाल फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् ।
उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् ।