
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका ९ जनाको निधन भएको छ ।
शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ६ र विकास विकको परिवारका ३ जनालाई पहिरोले पुरेको छ ।
पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ ।
त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस विक पनि पहिरोले पुरिएर ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म जेनिश विकको शव भने भेटिएको छैन । खोजी कार्य जारी रहेको छ ।
तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् ।
उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए ।
उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए ।
यता कमला विकका श्रीमान् विकास विक भने रोजगारीका लागि साउदीमा रहेका छन् ।
उनी लकडाउन खुलेलगत्तै स्वदेश फर्किने तयारीमा थिए ।
तुलबहादुरी छोरी दीपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैँयुथन्थाप हो । उनी कुश्माबजारमा छोरा पढाएर बस्दै आए पनि यतिबेला माइतीमा बसेकी थिइन् । उनका श्रीमान समेत रोजगारीका लागि खाडी मुलुक साउदीमा रहेका छन् ।
पहिरो गएलगत्तै कुश्माबाट पुगेको तीनवटै सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा राति २ बजेसम्म ३ र बिहान ५ वटा शव निकालिएको हो ।
जेनिश विकको भने खोजी भइरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए ।
मृतकहरुको शव दिनभरि स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । परीक्षण सकिएपछि सोमबार सामूहिक दाहसंस्कार गरिने स्थानीय प्रभु गुरुङले जानकारी दिए ।
पहिरोबाट बस्ती आसपासमा रहेका झण्डै आधा दर्जन घर जोखिममा परेका छन् ।
उनीहरुलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । उनीहरुको पुख्र्यौली बसोबास सोही गाउँको ढकालवारीमा थियो । सो स्थानमा समेत पहिरो र बाढीको समस्या भएपछि पाँच वर्षअघि मात्र जग्गा किनेर काउलेमा आएका थिए ।
प्रदेश सरकारले प्रतिव्यक्ति रु ५० हजारका दरले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरेको छ भने जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि पीडित परिवारलाई रु एक लाखका दरले राहत प्रदान गरेको छ ।