
पर्वत जिल्लाका कुश्मा नगरपालिका ३ दुर्लुङमा हावाहुरी सहित भीषण वर्षाका कारण पहिरो जाँदा केहि घर बगाएको र ९ जना मानिसहरु पुरिएको आशंका गरिएको छ ।
कुस्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेज प्रसाद पाध्याका अनुसार तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो भने ३ जनाको शव फेला परेको छ ।
पहिरोमा परी मृत्यु हुनेमा कुश्मा- ३ काफलचौरका ५२ वर्षीय तुल बहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनकुमार थापा र उनकी नातिनी ८ वर्षीय बिबिसा थापा रहेको प्रहरीले जनाएको छ । थापाको घरमा ६ जना रहेको कुस्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेज प्रसाद पाध्याले जानकारी दिए ।
सम्राट थापा, दिर्पा थापा, विवेक थापा, कमला विक,जेनिस विक र प्रमिसा विक र अन्य ३ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुको स्काभेटर प्रयोग गरी खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटना घटे लगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् ।
पहिरोले २ घर र ६ गाईबस्तु बगाएको छ भने घटना स्थल नजिकै रहेका अन्य ३ घर परिवार जोखिममा परे पछि अन्यत्र सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म खोजी गरिएको र अहिले बिहानै देखि स्थानिय तथा सुरक्षाकर्मीले खोजी जारी राखेका छन ।
राती २ बजे पनि पानी परिरहेको र अध्याँरोका कारण खोजी गर्न कठिन भएको थियो । बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको काम थालेको उनको भनाई छ ।
शनिबार साँझदेखि परेको वर्षाका कारण राति ९: ०५ बजे अचानक पहिरो गएको थियो ।
झन्डै २० वर्षअघि खनिएको गाउँमाथिको मोटर बाटो झरेको पहिरोले एकै ठाउँका तीन घर बगाएको हो। दुईवटा घरको भने निसान समेत नरहने गरी पुरिएको प्रहरीले बताएको छ।
चार परिवार विस्थापित
घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यलाई राति नै सुरक्षित स्थानमा सारिएको छ। वडाध्यक्ष पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकाले पहिरो गएको छेउछाउमा परेका परिवारलाई राति नै नजिकै रहेको होमस्टेमा राखिएको हो। ‘दुर्लुङका धेरै घरहरू कमजोर खालका छन्। कोहीका भित्ता चर्किएका छन् कोहीका कोठा भत्केका छन्,’ उनले भने, ‘अरू घर पनि भत्किन सक्ने भएकोले राती नै नजिकै रहेको होमस्टेमा सारेर उहाँहरूलाई सुरक्षित पारेका छौँ।’