
उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै निधन भएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार निधन हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ ।
जिल्लाको सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढाले बताए ।
प्रहरीले घटनास्थल पुगेर ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घाइते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो
भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । बिहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्ने ५७ वर्षीय चालक नरबहादुर राउतको शव भेटिएको हो ।
ढलबाट छिरेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए । बिहीबार स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरी शव परीक्षणका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।