धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप २८ जना कोरोना सङ्क्रमित निको भएर आज (मंगलबार) घर फर्किएका छन् ।
उनीहरूको स्वास्थ्य प्रोटोकल अनुसार कोरोना सङ्क्रमित भएर उपचारका लागि भर्ना भएको र पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएकाले उनीहरूलाई डिस्चार्ज गरिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
उनीहरू सबै झापाको रहेको बताइएको छ । निको भएर घर फर्किनेमा १८ देखि ५६ वर्षका पुरुषहरू रहेको जनाइएको छ ।
प्रतिष्ठानमा अब ५५ जना कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।