
काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कोरोना भाइरस संक्रमण र रोकथाम तथा यसको प्रभावका विभिन्न पक्षमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने कुरा राखेपछि प्रधानमन्त्रीले अबको एक दुई दिनमा यस विषयमा निर्णय गर्नुपर्ने धारणा राखेका हुन् ।
मन्त्रीपरिषद बैठकले विभिन्न क्षेत्रका विज्ञहरुको राय समेतलाई समेटेर लकडाउन कहाँ कसरी कार्यन्वयन गर्ने,कहाँ अझ कडा गर्ने र कहाँ खुला बनाउने कार्ययोजना बनाउन उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिएको छ ।
त्यस्तै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो । सरकारले यही जेठ ३२ सम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।
बैठकमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बन्दाबन्दीका अवसरमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । बैठकले विदेशबाट आउने नागरिकलाई राख्ने होल्डिङ सेन्टर व्यवस्थित बनाउने र उनीहरुलाई सहजरुपमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो । सरकारले शुक्रबारदेखि विदेशमा बस्ने नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउँदैछ ।
बन्दाबन्दीको अवधिमा बुधबारमात्रै व्यवसायीले स्वतःफूर्तरुपमा पसल खोल्ने निर्णय गरेको सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो तर कुनै निष्कर्ष भने नभएको बताइएको छ ।
अहिलेको अबस्थामा जनस्तरबाट उठेका प्रश्नमा समेत समीक्षा भएको र सरकारलाई केही महत्वपूर्ण विषय सिफारिस गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।
प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार बन्दाबन्दीलगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिएका थिए ।